काठमाडौं – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका १/२ ठाउँबाहेक अन्यत्र वर्षा भएको छैन । मनसुन न्यून चापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकोले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अबका ३ दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ ।

आज राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रका १/२ ठाउँमा मुसलधारे वर्षा हुन सक्छ । यस्तै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ ।

भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ ।

यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ । आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ । अब यो क्रम ५/६ दिनसम्मै चल्ने मौसमविद्को अनुमान् छ ।

पहाडी क्षेत्रमा बेलुकीपख केही वर्षा हुन सक्ने भएकोले केही राहत मिले पनि तराई मधेशमा लगातार गर्मी हुन सक्छ । ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाका कारण ४५ डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ ।

विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन् ।