काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन् ।

उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ वटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरिएकोमा आज दिउँसो आफैँ सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएर फर्किएका सबै जनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ । जङ्गल निकै ठूलो भएकोले सुरक्षाकर्मीहरूले खोजीकार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू आफैँ घर फर्किएका हुन् ।

फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए । रातभर जङ्गलमै बसेकोमा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएका हुन् ।

उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए । कसैसँग पनि मोबाइल नरहेका १४ जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए । हराएका १४ मध्ये ९ जना एकै परिवारका हुन् ।

यस्तै शुक्लाफाँटा क्षेत्रको बेलडाँडीमा हराएका ३ जना भने हिजै फेला परेका थिए ।

सम्पर्कविहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन् । उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन् ।