काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल सङ्गठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ ।
बालगृहमा बालबालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन १०४ को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक–फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ ।
यसअघि सुधारका लागि पटक–पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो । पहिलो चरणमा २ वर्षमुनिका २० जना बालबालिका उद्धार गरेको मन्त्रालयले जनाएको छ जसमा १२ बालक र ८ बालिका रहेका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ ।
बाँकी बालबालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ ।














