काठमाडौं — गएराति र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । त्यसैले लामो दूरीको यात्रा नगर्न उहाँले फेसबुकमार्फत सुझाव दिनुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।













