ललितपुर – नेपालमा भैँसीको नश्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका १५ वटा मुर्रा राँगाबाट सङ्कलन गरेकोमध्ये झन्डै ४९ हजार डोज वीर्य किसानले प्राप्त गरेका छन् ।

पशु सेवा विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार १५ वटा राँगाबाट अहिलेसम्म १ लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरेकोमा ४८ हजार ८५६ डोज किसानले पालेका भैँसीलाई गर्भधान गराउन प्रयोग भएको हो ।

उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले २०८० साल मङ्सिरमा उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो ।

विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७, लहानमा ५ र नेपालगञ्जमा ३ गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ ।

मुर्रा उच्च दूध उत्पादनका लागि भैँसीको एक उन्नत जात हो । यो मूल रूपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ ।

मुर्रा जातको भैँसीले एक बेतमा ४ हजारदेखि ५ हजार लिटरसम्म दूध दिन्छ । नेपालमा पाइने स्थानीय जातका भैँसीले सरदर १ हजार ५०० देखि १ हजार ६०० लिटरसम्म दूध दिन्छन् । रासस