काठमाडौं – मुख्य राजमार्गमा आज निर्बाध रूपमा गाडी चलिरहेका छन् ।

ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरुद्ध नागढुङ्गा–मुग्लिन–नारायणगढ सडक हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन ।

त्यस्तै बीपी राजमार्गमा बाढीको जोखिमका कारण गएराति काभ्रे खण्डमा गाडी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो सडक खण्डमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर मनसुन अवधिमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाउने गरिएको छ ।

यस्तै कान्ति लोकपथ सडकको मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पहिरो जाँदा हिजो अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कान्ति लोकपथ सडक खण्ड आज बिहान ५ बजेदेखि गाडी सञ्चालनमा आएको छ ।

मकवानपुर जिल्लासँगको समन्वयमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हिजो बेलुका साढे ६ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक गाडीको आवागमनमा रोक लगाएकोमा अहिले गाडीहरू चलिरहेका हुन् ।

यस्तै सिन्धुपाल्चोकको अरनिको राजमार्ग (भोटेकोशी–कोदारी) पनि पहिरोका कारण अवरुद्ध हुने गरेकोमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।