काठमाडौं — आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड र तराईका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ ।
आज दिउँसो देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
त्यस्तै आजराति थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाडी र तराई भागको एकरदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
गएराति पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको थियो । अरु ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो ।
ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ । काठमाडौंको बागमती नदीमा बाढी आउँदा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन् । उनीहरुका सरसामान पानीले डुबाएको छ । बिहान पानी कम भएपछि उद्धारको काम भएको छ । सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ ।












