काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न सरकारमा नआएको बताउनुभएको छ ।

गणेश नेपालीको घटनाबारे जानकारी दिन आज प्रतिनिधिसभाको बैठकमा पुग्नुभएका गृहमन्त्री गुरुङले यो घटनामा कति जना अस्पताल पुगे भनी विपक्षी दलका सांसदहरूलाई प्रश्न पनि गर्नुभयो । ठाउँमा पुगेर नागरिकको सेवा गर्न नसक्ने तर सदनमा नागरिकको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने उहाँको भनाइ थियो ।

गृहमन्त्रीले आफूहरूले ठाउँमा गएर नागरिकको सेवा गर्दा त्यसलाई विपक्षी दलका सांसदहरूले ‘स्टन्टबाजी’ भनेकोमा आपत्ति जनाउँदै आफूलाई त्यस्तो इच्छा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरै माननीयज्यूहरू देखेँ – उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याइरहनुभएको थियो । सदनमा चिच्याएर मात्रै हुँदैन । नागरिकको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । मुखले बोलेको ५०औँ वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । नागरिकको सेवा ठाउँमा गएर गर्न सक्नुपर्दछ । त्यसलाई तपाईँहरू स्टन्टबाजी भन्नुहुन्छ । म आफ्नो देशको सेवा गर्न आएको हो ।’