काठमाडौं – झापाको मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का हात्ती प्रभावित बासिन्दाले जङ्गली हात्तीको आतङ्क नियन्त्रणको मागसहित प्रधानमन्त्रीसमक्ष ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत उनीहरूले प्रदेश सरकार र सङ्घ सरकारको ध्यानाकर्षण गराएका हुन् । मुख्यमन्त्री कार्कीमार्फत नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत उनीहरूले ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ । साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख छ ।
सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । ज्ञापनपत्रका मागहरू तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने हात्ती प्रभावित बासिन्दाले चेतावनी दिएका छन् ।











