काठमाडौं – मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ । बाढी, पहिरो र डुबानजस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि २१ हजार ६९९ जना जनशक्तिलाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायणदत्त पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विपद् प्रतिकार्यकै लागि ८ हजार १८० जना कर्मचारी चौबीसै घण्टा ‘स्ट्यान्डबाई’ रहने व्यवस्था मिलाइएको छ । सातै प्रदेशका ५४ ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस तथा १६ अति जोखिमयुक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ ।

१३४ जना गोताखोर, ८२ वटा र्‍याफ्टिङ बोट र ५३ वटा मोटरबोट तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’ र ८ वटा एम्बुलेन्स विभिन्न ठाउँमा तैनाथ गरिएका छन् ।

समुदायस्तरमा १ लाख ६८ हजारभन्दा धेरै ’विपद् सूचक’ को सञ्जाल तयार पारिएको छ भने ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एपमार्फत सूचना सङ्कलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ । आज पत्रकार सम्मेलन गरी महानिरीक्षक नारायणदत्त पौडेलले संभावित प्रकोपबारे सबै आा नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो ।