काभ्रे – बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ‘ट्र्याक’ बाट गाडी आवागमन शुरू हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमवार असार १५ गतेदेखि नयाँ ‘ट्र्याक’ बाट गाडी आवागमन शुरू गर्ने तयारी छ । चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको खण्ड तयार भइसकेको छ ।
२०८१ सालको असोजमा आएको बाढी पहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म झन्डै ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आए पनि बारम्बार बाढीले त्यसलाई बगाउने गरेको थियो ।
अब यो सडक खण्डमा दुई लेनको सडक बनाइनेछ । ५ वटा पुललाई पनि दुई लेनमा परिणत गर्ने योजना छ । वर्षापछि खोलाबाट झन्डै १० मिटर उचाइसम्म सडक बनाई कालोपत्र गरिनेछ ।
क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोडको स्रोत सहमति दिएको छ भने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर खण्ड जापानको जाइकाको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा पुनर्निर्माण हुँदैछ ।
सुरक्षाका दृष्टिले अहिले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म अर्थात् रातको समयमा गाडी आवागमनमा रोक लगाइएको छ । रासस









