काठमाडौं — मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिक रहेका छन् ।

कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलास पुग्ने गरेको बताइएको छ । गएको मार्च महिनासम्म ८१२ जना यात्रु रसुवागढी पुगेका थिए भने अप्रिल १४ सम्म बढेर १४ हजार २४० पुगेको र यस वर्षको जनवरीबाट हालसम्म १७ हजार २४१ यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन् ।

यो विवरण जनवरीदेखि जुन १४ सम्मको अध्यागमन कार्यालयले जनाएको छ । काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलासका केही यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले जानकारी दिनुभयो ।

काठमाडौँबाट बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन् । यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा थप चुनौती समेत देखिएको छ । रासस