काठमाडौं – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी ८ बुँदे आचारसंहिता जारी गरेको छ ।
आचारसंहिताअनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधिबाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन् । यस्तै उपचारसम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ ।
बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मञ्जुरी लिनु अनिवार्य छ । साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्वीर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ ।
अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ । अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ ।
कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था आचारसंहितामा छ ।












