काठमाडौं – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ ।
पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका थिए ।
महानगरले पटक–पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख ४ गतेको कार्यपालिका बैठकले ३५ दिने अन्तिम सूचना दिएको थियो । निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढाइएको जानकारी दिनुभयो । अब भत्काइएका भवनको जग्गामा भित्री सडक दुई लेनको बनाउने महानगरको योजना छ ।











