काठमाडौं – बागमती नदी कोरिडोर अन्तर्गत थापाथली, गैरीगाउँ, मनोहरा र बालाजुलगायतका क्षेत्रका अनधिकृत संरचना र सुकुम्वासी बस्तीमा डोजर चलाइएको १ महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्योलमा छ ।
वैशाख १२ गते अघिसम्म हजारौँ मानिसको बसोवास रहेको क्षेत्र अहिले भत्किएका इँटा, ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ ।
सरकार बागमती कोरिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढिरहेको छ । तर घरबारविहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन ।
भग्नावशेषबीच केही मानिसहरू कङ्क्रिटभित्रका फलामका रड निकालेर कवाडीमा बेच्दै जीवन चलाइरहेका छन् । नदी किनारमा सौन्दर्यकरण गर्ने कि हरियाली पार्क बनाउने भन्ने विषय अझै टुङ्गिएको छैन ।











