काठमाडौं – पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराइका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्रि सेल्सियस वा त्यो नजिक पुगेको छ । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको र यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उहाँले बताउनुभयो ।
गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा सास्ती खेपिरहनुपरेको नेपालगञ्जका शिवदत्त भट्टले बताउनुभयो । गर्मीमा शितल बनाउने उपकरण बढी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।













