काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरू भएको बाग्मती सफाइ महाअभियान आजदेखि १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०७० जेठ ५ गते काठमाडौंको सभ्यताको स्रोत बाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरू भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५०औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा। रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धुनुभएको थियो ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गर्नुभयो । अहिलेसम्म पनि उहाँको नेतृत्व छ । त्यसबेलादेखि प्रत्येक हप्ता शनिवार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा साढे ७ देखि साढे ९ बजेसम्म बाग्मती नदीका विभिन्न ठाउँको किनारमा सफाइ हुने गरेको छ । महाअभियान आउँदो शनिवारदेखि ६८० औँ हप्तामा प्रवेश गर्दैछ ।
बाग्मतीबाट अहिलेसम्म २२ हजार मेट्रिक टनभन्दा धेरै फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाख जनाभन्दा धेरैले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवम् सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।
महाअभियान १४औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ पालिकामा दोस्रो चुनाव सकिएको पनि दुई वर्ष पूरा भएको छ । अभियानको सफलताका लागि पालिकाले साथ दिनुपर्ने अभियानकर्मीको माग छ ।
बाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले पालिकाकै काममा सहयोग गरिरहेको भए पनि पालिकाको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।
महाअभियानकी अभियानकर्मी डा। माला खरेल फोहर व्यवस्थापनमा पालिकाको साथ अत्यावश्यक पर्ने बताउनुहुन्छ ।
महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बाग्मतीका सहायक नदी, बाग्मतीकै पनि विभिन्न ठाउँमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यकाका अहिले गुह्येश्वरीमाथिको बाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ भन्दा धेरै ठाउँमा सफाइ भइरहेको छ ।
काठमाडौँ उपत्यकाबाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाण्डौ उपत्यकाबाहिर झन्डै ११० ठाउँमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापी रूपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । रासस













