काठमाडौं – प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक फेरी शुरू भएको छ ।

सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन् ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन् । कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गरेका हुन् ।

यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिष्कार गर्नुभएको छ ।

प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा मागेका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नुभएको हो ।