काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले थापाको रास्वपा लक्षित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको हो ।
हिजोको प्रतिनिधिसभा बैठकमा नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनुभएको थियो । लगत्तै रास्वपा नेता मनिष खनालले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
एमाले नेता थापाले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनुभएको थियो ।














