काठमाडौं – दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदामा कटौती गरिएको छ ।

दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।

प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ ।

त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ ।

पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ ।

अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।