चितवन – बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ ।
हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ ।
उहाँका अनुसार धेरै गैँडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात् ’जेनेटिक’ विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागिएको छ भने थोरै सङ्ख्यामा गैँडा पाइने बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ ।
आनुवंशिक विधिमा गैँडाको गोबर सङ्कलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर सङ्ख्या र लिङ्ग पहिचान गरिन्छ । हरेक गैँडाको गोबरमा ’जेनेटिक स्ट्रक्चर’ फरक हुन्छ । गैँडाले सामान्यतया एकै ठाउँमा दिसा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक–पटक गोबर सङ्कलन गरिन्छ ।
सन् २०२१ को गणनामा झन्डै तीन करोड रुपैयाँ खर्च भएको थियो । गैँडा गणनामा ठूलो सङ्ख्यामा हात्तीलगायतका प्राविधिक जनशक्ति परिचालन गर्नुपर्छ । सन् २०२१ को गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । रासस












