झापा – झापामा जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका वडा नम्बर २ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि ९ जनालाई दमकमा रहेको बाल अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले जानकारी दिनुभयो ।
यसैबीच प्रहरीले जङ्गली च्याउ खाँदा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ । रासस












