काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु पूर्वानुमानरआँकलन–२०८३ अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आँकलन गरिएको उल्लेख छ ।

त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । अर्थात् गर्मी बढी हुने देखिन्छ ।

जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिमका धेरैजसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेशका उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभागले यो आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानीको प्रारूप र ‘साउथ एशियन सिजनल क्लाइमेट आउटलुक फोरम’ का आधारमा तयार पारेको जनाएको छ ।

नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरको झन्डै ८० प्रतिशत पानी पर्छ ।