काठमाडौं – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो ।
एकतर्फी ढलानको काम सकिएको हुँदा अबको दुई हप्तापछि त्यस क्षेत्रमा पक्की सडकबाटै गाडी चल्नेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य पानी पर्दा पनि गाडी चिप्लने र जामको समस्या थियो ।
सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्रे र ढलानले जोडिएको छ । दाउन्नेको पूर्वी खण्ड पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम शुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना शुरु भएको सात वर्षपछि बल्ल यात्रा केही सहज हुँदै गएको छ ।
एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर झण्डै १७ अर्ब लागत रहेको छ । रासस













