काठमाडौं – चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत सहायतासम्बन्धी सम्झौता आज औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो ।
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ्ग माओमिङ्गबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले झन्डै ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
यसअघि सन् २०१९ देखि शुरू भएको पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।
चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको छ । अहिले बसुन्धारासम्म मात्र विस्तार गर्न लागिएको छ । चक्रपथको दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले आनाकानी र अलमल गर्दै आइरहेको थियो ।
कलङ्की–महाराजगञ्ज क्षेत्रको सडक विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७४ फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुनुपर्ने थियो तर ८ वर्षसम्म पनि काम नै शुरू हुन सकेको थिएन ।
यसअघि चीन सरकारकै सहयोगमा चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलङ्की सडक ८ लेनमा विस्तार भइसकेको छ । यो खण्डको दूरी १० दशमलव ३९ किलोमिटर छ । यो सडक खण्ड २०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७ दशमलव २ किलोमिटर चक्रपथ निर्माण भएको थियो । कोटेश्वर–कलङ्की सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको थियो ।
पहिलो खण्ड चीनको शाङ्घाई कन्स्ट्रक्शन ग्रुपले २०७० सालमा विस्तार थालेको थियो । विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि २ वर्ष ढिलो गरी २०७५ माघमा हस्तान्तरण भएको थियो । यो खण्ड विस्तारको लागत ३१ करोड २० लाख चिनियाँ युआन रहेको थियो ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए १ दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गर्नुभयो ।
चिनियाँ राजदूत माओमिङ्गले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले नेपालको विकासमा चिनियाँ सहयोग सधैँ रहने समेत बताउनुभयो ।













