काठमाडौं – बीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र रोकिएका ६२७ जना यात्रुलाई काभ्रे प्रहरीले काठमाण्डौ पठाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मङ्गलटारमा रोकिएका यात्रुलाई भकुन्डेबेसीबाट गाडीहरू पठाएर ल्याइएको हो ।

रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो दिउँसोदेखि बीपी राजमार्गका ८ वटा ठाउँमा सडक अवरुद्ध भएको छ । बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेसी, गिम्दी बेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालाढुङ्गा, डालाबेसी, ठूलोढुङ्गा, माम्ती, नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा बनाइएका डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरूपमा बन्द भएको हो ।

सडक बन्द हुँदा काभ्रेको मङ्गलटार, भकुन्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा गाडीहरू रोकिएका छन् । गाडीहरूलाई सुरक्षित ठाउँतर्फ सारिएको छ भने बीच बाटोमा अलपत्र परेका यात्रुलाई पैदल हिँडाएर तेमालको कालधार–नारायणस्थान–भकुन्डे हुँदै धुलिखेलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

डाइभर्सन बगेका ठाउँहरूमा मर्मत चलिरहेको भए पनि मौसममा सुधार नआएसम्म र मर्मत सम्पन्न नभएसम्म गाडी सञ्चालन हुने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । सडक अवस्थाबारे जानकारीका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।