काठमाडौं – हिजो रातिको हावाहुरी र वर्षाले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण घटेको छ ।
हिजो काठमाडौंको हावाको गुणस्तर मापन सूचक एक्युआई २०० भन्दा माथि रहेकोमा आज बिहान १०० भन्दा कम छ । यो भनेको सामान्य अवस्थाको प्रदूषण हो ।
यसैबीच आज बेलुकीदेखि पानी पार्ने प्रणाली सक्रिय भए पनि अझै केही दिन तराईमा तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो बेलुकी निकालेको विशेष बुलेटिनअनुसार पछिल्ला केही दिनदेखि मधेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तापक्रम उच्च रहँदै आएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को अवस्था देखिएको छ । भोलिसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि पुग्न सक्ने महाशाखाले जनाएको छ । यसका कारण मध्यम स्तरको तातो लहरको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र नवलपरासीमा धेरै गर्मी हुने सम्भावना छ । गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन तथा बालबालिका, वृद्ध तथा बिरामीलाई विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
यसबीचमा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै तुवाँलो तथा वायु प्रदूषणमा केही सुधार हुने पनि महाशाखाले जनाएको छ । मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक, दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।
यसैगरी बुधबारदेखि बिहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरूमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा मध्यम खालको पानी पर्ने भएकाले गर्मी घट्ने अनुमान छ ।
अहिले प्रि-मनसुनको समय भएकाले पानी र हिउँसँगै मेघ गर्जन चट्याङसहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।












