काठमाडौं – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । केही दिनदेखि गर्मी र वनमा डढेलोको सङ्ख्या बढेसँगै वायु प्रदूषण पनि बढेको हो ।
आज काठमाडौं उपत्यकाको हावा मानव स्वास्थ्यका लागि अति अस्वस्थ अवस्थामा पुगेको छ । हावाको गुणस्तर मापन सूचक ‘एक्यूआई’ २०० भन्दा माथि पुगेपछि मानव स्वास्थ्यका लागि अति अस्वस्थ हुनेमा आज काठमाण्डौको ‘एक्यूआई’ २३० भन्दा माथि छ ।
काठमाडौं अहिले वायु प्रदूषण धेरै भएका विश्वका शहरको सूचीको दोस्रो स्थानमा छ । काठमाडौंसँगै पोखरा, लुम्बिनी, सुर्खेतलगायतका शहर र हिमाली क्षेत्र मुस्ताङमा समेत वायु प्रदूषण बढेको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।
यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आउँदो तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिनुभयो ।
विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्छ । तर ‘एक्यूआई’ २०० भन्दा माथि पुगेपछि सबै वर्गको स्वास्थ्यमा जोखिम पुग्ने जलवायु विज्ञ उज्ज्वल उपाध्याय बताउनुहुन्छ ।
उहाँका अनुसार सामान्य भाषामा भन्दा अहिले काठमाडौं उपत्यकामा दिनभर घरबाहिर बस्दा १२ वटा चुरोट पिएको बराबर प्रदूषित हावा फोक्सोमा पुग्छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धूलो–धूवाँबाट जोगिन उहाँको सुझाव छ ।










