काठमाडौं – ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्राअन्तर्गत आज गाबहालबाट मङ्गलबजारसम्म रथ तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनको निकै ठूलो भीड लागेको छ ।

हिजो पुल्चोकबाट रथ तानेर गाबहाल पुर्‍याइएको थियो । हिजो बेलुका रथ गाबहाल पुगेपछि त्यहाँका बासिन्दामा रौनकता छाएको छ । आज गाबहालमा स्थानीय बासिन्दाको पर्व अर्थात् ‘जात्रा’ रहेको छ । जात्राका अवसरमा गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीय बासीको जात्रा सम्पन्न भएपछि रथलाई आजै मङ्गलबजारसम्म तानिने कार्यक्रम रहेको छ ।

पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रामध्ये एक हो । काठमाडौं उपत्यकामा वर्षा गराउनका लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।

आज मङ्गलबजार पुर्‍याएपछि रथलाई केही दिन त्यहाँ राखिने र त्यसपछि अन्य गन्तव्यहरूमा लगिने परम्परा छ ।