बाँके – गर्मी बढेसँगै तराई मधेशका जिल्लामा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङ्गरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार अहिले दिनमा १ देखि ३ वटासम्म सर्प उद्धार गर्नुपरेको छ । गर्मी खप्न नसकी सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पस्ने गरेको उहाँले बताउनुभयो ।

सर्पविज्ञ करण साहका अनुसार सर्पको डसाइबाट बच्न बाहिर हिँड्दा बाहुला भएको लुगा लगाउन, शौचालय जाँदा टर्चलाइट बाल्न, भुइँमा नसुती खाटमा सुत्न र झुल लगाउन उपयुक्त हुन्छ । घरआँगन सफासुग्घर राख्न, घाँस दाउरा गर्दा सतर्क रहन पनि उत्तिकै जरुरी छ ।

सर्प देखेमा जिस्काउनु वा लखेट्नु हुन्न । घरबाहिर भए छाडिदिने र घरभित्र भए उद्धारकर्तालाई बोलाउनुपर्छ ।
गाउँघरमा अझै पनि टोकेको ठाउँ कसिलो बाँध्ने, मुखले चुस्ने, धामीझाँक्री लगाउनेजस्ता घरेलु उपचार हुने गर्छन् जो एकदमै गलत र हानिकारक रहेको साह बताउनुहुन्छ । सही प्राथमिक उपचारमा टोकेको ठाउँमा सफा कपडाले बाँध्ने र तुरुन्तै नजिकैको अस्पताल पुग्नु नै उत्तम उपाय हो । रासस