काठमाडौं — छिमेकी देशहरु चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम तीव्र बनाएको छ ।
हिउँदयामको अत्यधिक चिसो, हिमपात तथा गएको फागुन २१ को चुनावका कारण रोकिएको काम अहिले पुनः तीव्र गतिमा अघि बढाइएको हो । झण्डै ९ दशलमव ८ किलोमिटर लम्बाइको सडकखण्डको स्तरोन्नति कार्य भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाअन्तर्गत मुस्ताङको थासाङ–४ घाँसाबाट कोरला नाका हुँदै मुक्तिनाथ जोड्ने कागबेनीसम्मको झण्डै ९८ प्रतिशत सडक कालोपत्र भइसकेको छ । नेपाल–चीन उत्तरी कोरला नाकासम्म सडकलाई स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यअनुसार सङ्घीय सरकारले गएको वर्ष बजेट विनियोजन गरेको थियो ।
कागबेनी–छुसाङ सडकखण्डको कालोपत्र तथा विस्तारका लागि गएको वर्ष असार २६ गते टक्सार इफ्फाटा/बुद्ध जेभी कन्स्ट्रक्सनसँग २८ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सडक निर्माण कार्य २०८४ साल असार २४ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । ठेक्का सम्झौता गत असारको अन्तिमतिर भए पनि प्रतिकूल मौसम र चुनावका कारण झण्डै पाँच महिना काम अवरुद्ध भएको थियो ।
हिउँदयाम सकिएसँगै निर्माण कम्पनी फेरि कार्यस्थलमा फर्किएको छ । अहिलेसम्म झण्डै २० प्रतिशत भौतिक प्रगति भएको छ । सडक झण्डै ११ मिटर चौडा बनाइनेछ भने ८ मिटर भागमा कालोपत्र गरिनेछ । आयोजनाले छुसाङ–कोरला खण्ड स्तरोन्नतिका लागि झण्डै ५ अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।













