काठमाडौं — आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा अबको तीन दिनसम्म तातो दिन रहने सम्भावना छ ।
पछिल्ला केही दिनयता तापक्रम बढ्दै गएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मी महसुस हुने महाशाखाको अनुमान छ । देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा गर्मी बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले पर्याप्त पानी पिउन, हल्का र उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा बालबालिका, सुत्केरी, वृद्ध र बिरामीहरूको विशेष हेरचाह गर्न सुझाव दिएको छ । लामो समय घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न पनि आग्रह गरिएको छ ।
यसैबीच आज कोशी प्रदेश लगायत बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । बाँकी क्षेत्रको मौसम आंशिक बदली रहनेछ । भोलि र पर्सि पनि कोशी प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा रहने र गर्मी कायमै रहने महाशाखाले जनाएको छ ।













