काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइएको छ । यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुर्ख्यौली परम्परालाई निरन्तरता दिनुभएको छ ।
चैत मसान्तमा शुरू हुने बिस्केट जात्राको विशेष आकर्षणका रूपमा रहेको यो जात्रा हेर्न हजारौँको सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ ।
जात्राका क्रममा सूजनले झन्डै १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको थियो । जिब्रो छेड्नुअघि उहाँले स्थानीय देवीदेवताको पूजाअर्चना गर्नुभएको थियो । जिब्रो छेडिसकेपछि उहाँले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गर्नुभएको थियो ।
जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र घाउ छिटो निको होस् भनेर महालक्ष्मी मन्दिरको माटो जिब्रोमा दलिन्छ । यो माटोले जिब्रोको घाउ निको पार्न औषधिको काम गर्छ भन्ने जनविश्वास छ ।











