काठमाडौं – स्वास्थ्य मन्त्रालयले बोल्ड निर्णय गरेको छ । वषौंसम्म शक्ति र पहुँजको भरमा सुगममा काज मिलाएर बस्दै आएका स्वास्थ्यकर्मीलाई दरबन्दीमै फकाउने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार दोस्रो चरणमा थप ७ जना विशेषज्ञ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरेको हो ।

यसभन्दा अगाडि पहिलो चरणमा मन्त्रालयले १४ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

‘पहुँचको आधारमा वर्षौंसम्म चिकित्सक सुगम क्षेत्रमा बस्दै आएका थिए । पटक-पटक तोकता गर्दा पनि जान मान्नु भएको थिएन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पछिल्ला दिन बोल्ड निर्णय गरिएको छ । नामै तोकेर काज फिर्ता गरिएको हो ।’

सुगम क्षेत्रका अस्पतालमा वर्षौँदेखि कार्यरत रहेका चिकित्सकलाई उनीहरूको दरबन्दी स्थानमा पठाएर दुर्गमका नागरिकलाई सेवा सुनिश्चित उक्त कदम चालिएको हो ।

दोस्रो चरणमा मन्त्रालयको निर्णय अनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, र वीर अस्पताल जस्ता केन्द्रीय अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ ।

काज फिर्ता हुनेमा ड. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी, डा. दिवस सापकोटा र डा. रन्जु पोखरेल छन् ।