सर्लाही – सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै उनले पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन् ।
महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादवले ८ हजार ५२३ मत पाए भने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ५ हजार ९९२ मतमा सीमित भए । सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाउँदै आएका दुई ‘हेभिवेट’ नेतामाथि महतोले स्पष्ट जित निकाले ।
कविलासी नगरपालिका–१० सलेमपुर निवासी ३८ वर्षीय महतो यस क्षेत्रमा नयाँ अनुहार भए पनि जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उम्मेदवारी गर्दासँगै उनी स्थानीय राजनीतिमा एकाएक चर्चामा आएका थिए ।
प्लस टु उत्तीर्ण गरेपछि केही समय विभिन्न अवसरको खोजीमा लागेका महतोले नेपाल प्रहरीको असई (सहायक निरीक्षक) पदका लागि पनि परीक्षा दिएका थिए । तर सफल हुन नसकेपछि पढाइलाई निरन्तरता दिने निर्णय गरे र काठमाडौं पुगे ।
काठमाडौंस्थित त्रिचन्द्र मल्टिपल क्याम्पसबाट २०६९ सालमा बीएससी उत्तीर्ण गरे । अध्ययनकै क्रममा जीविकोपार्जनका लागि उनले विभिन्न काम गरे । कहिले कपडामा बुट्टा बुन्ने, कहिले विद्यार्थीलाई कलेजमा भर्ना गराउने जस्ता काम गर्दै उनले आफ्नो पढाइ अघि बढाएका थिए ।











