काठमाडौं – नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा चौधरीको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । यो सुनुवाइले चौधरीको मागमाथि अन्तरिम आदेश दिने कि नदिने भनेर तय गर्ने छ ।
चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो । जन्मकैदको सजाय पाएको व्यक्ति भएकाले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार बन्न अयोग्य रहेको निष्कर्षसहित चौधरीको उम्मेदवारी खारेज गरेको थियो । सोही निर्णयउपर निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर चौधरीले सर्वोच्च पुगेका थिए ।











