काठमाडौं – जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिइरहेका थिए ।

त्यही बेला झ्याप्प बत्ती गयो । ओली बोलिरहेका बेला शान्त हलमा बत्ती गएपछि हल्ला पनि सुरु हुन थाल्यो । बैठकमा सहभागीहरु आफ्नो स्थानबाट उठेर बाहिरतिर निस्किन थाले ।

केहीबेरमै बत्ती आयो । तर हल्ला आउन बन्द भएन । सहभागीहरुको गाइँगुइँ आवाज आउन नरोकिएपछि ओलीले ‘डिस्टर्ब’ महसुस गरे ।

अनि मञ्चबाट हलमा चोर औंला देखाउँदै ओलीले भने, ‘हेलो १ पछाडि के छ त्यहाँ ? केही पसल–ससल छ कि क्या हो ?’

मञ्च व्यवस्थापक विनोद श्रेष्ठ अघिल्लो लहरबाट उठेर पछाडि हल्ला भएतिर गए । तर हल्ला रोकिएन ।

ओलीले निर्देशन पनि दिए, ‘प्लिज यो हलभित्र चाहिँ नबोलौं त ।’

त्यतिबेला केही व्यक्तिहरु हलको एक भागतिर राखिएको चिया खानतिर लागेका थिए । केही भने शौचालयतर्फ लागेका थिए ।

केन्द्रीय कमिटीको पहिलो दिनको बैठकको उदघाटन समारोहमा केन्द्रीय सदस्यहरु बाहेक पार्टी कार्यकर्ता र मिडियाकर्मीहरु पनि थिए ।

उनीहरुलाई ओलीले हलबाट बाहिर जान भने, ‘केन्द्रीय सदस्यहरुबाहेक अरु साथीहरु बाहिर जानु भए हुन्छ । र, बोल्न चाहिँ एकदम मनाही छ, ठ्याम्मै ।’

तर अझै पनि हलबाट आवाज बन्द भएन । ओली अझ कडारुपमा प्रस्तुत हुँदै भने, ‘आवाज बन्द भयो ? त्यता आवाज बन्द भयो साथीहरु ? आवाज त्यहाँ बन्द होस् है, कोही पनि नबोल्ने ।’

एकछिन रोकिएर आफ्नो मन्तव्य जारी राख्दै ओलीले भने, ‘म केन्द्रीय कमिटीको यस बैठक मार्फत् सिंगो पार्टीपंक्तिलाई एकताबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्ने भूमिकामा, पार्टीका निर्णय कार्यान्वयनको भूमिकामा प्रस्तुत हुन आग्रह गर्न चाहन्छु‘ ।’