काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले बताए । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।

जेनजी प्रदर्शनपछि दलहरूमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चर्किँदै गएको छ । तर, एमालेमा भने संस्थापन पक्ष खुलेरै अध्यक्ष ओलीको बचाउमा उत्रिएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए ।

उनले एमाले प्रतिनिधि सभा विघटनको विपक्षमा उभिने भन्दै पुर्नस्थापनाको पहल गर्ने उद्घोष गरेका थिए ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बालकोटमा रहेको ओलीको निजी निवासमा आगजनी भएको थियो ।

२४ भदौदेखि नेपाली सेनाको सुरक्षा घेरामा बसेका ओली स्थिति सामान्य बन्दै गएपछि गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।