काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ ।
निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरुसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको छ । यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमान घिसिङले त्यसको खण्डन गरेका हुन् ।
समाचारमा आएको कुरामा सत्यता नभएको बताउँदै घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् , ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचनारसमाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफलरसल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।’
घिसिङले आफूसँग सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरेर प्रचार गरिएको भन्दै विरोध समेत जनाएका छन् ।









