काठमाडौं – यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीले आज विज्ञप्ति निकालेर भदौ १२ गतेदेखि शुरू भई १५ गते मुख्य दिनका रूपमा गौरा पर्व मनाइने जानकारी गराउनुभएको हो ।
विज्ञप्ति अनुसार भदौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र दिउँसो ३ बजेर ५६ बजेसम्म रहेको छ । अठोला पञ्चाङ्गका अनुसार यो पर्वले नयाँ सृष्टि, माया–प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सद्भाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको छ ।
यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरी महिला पवित्र रही, चार दिनसम्म निराहार व्रत बसी, गौरी–महेश्वरको प्रतिमा बनाएर पूजा–आराधना गर्ने गर्दछन् ।
महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । यस वर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया अर्थात् नवविवाहिता नारीले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ । गौरा पर्व विशेषगरी सुदूरपश्चिम प्रदेशमा मनाइन्छ । रासस













