काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।

बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरू कल्पना समेत नगरेको छलफलका क्रममा बताए ।

‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो,’ ओलीले स्पष्ट पार्दै कर्णालीका केन्द्रीय सदस्यहरूलाई भने ।

पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावकका रुपमा बस्नुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनुपर्ने व्यक्ति रहेको ओलीको भनाइ थियो ।