काठमाडौं – यदि तपाईं सधैं कुखुराको मासु (चिकन) पकाउनु अघि पानीले पखाल्ने गर्नुहुन्छ भने यो काम हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन् ।
कुखुराको मासु सम्बन्धी सबैभन्दा विवादास्पद प्रश्न हो, पकाउनु अघि मासु धुनु हुन्छ कि हुँदैन ?
खाद्य स्वास्थ्य तथा सुरक्षा विज्ञहरू यो कामलाई गलत मान्छन् । किनभने पानीले पखाल्दा यसले ब्याक्टेरिया फैलिने सम्भावना बढाउँछ र क्रम-कन्टामिनेसन (संक्रमण फैलिने) को जोखिम निम्त्याउँछ।
काँचो कुखुराको मासुको सावधानीपूर्वक हेरचाह गर्नाले मात्र खाद्य विषाक्तताको जोखिमबाट बच्न सकिन्छ। तर त्यसअघि तपाईंको मासु बिग्रिएको छैन भन्ने सुनिश्चित गर्नुपर्छ।
धेरै मानिस मासु धोएमा यसमा भएको ब्याक्टेरिया वा चिप्लोपन हट्ने विश्वास गर्छन्। काँचो मासुमा प्रायः क्याम्पिलोब्याक्टर वा साल्मोनेला जस्ता ब्याक्टेरिया हुन्छन् भन्ने उनीहरूको सोच सहि भए पनि, पानीले पखाल्दैमा यी ब्याक्टेरिया हट्दैनन्।
बरु, सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) का अनुसार, धोएको पानीको छिटा बेसिन, भान्साको टेबुल र लुगा–कपडासम्म फैलिएर ब्याक्टेरिया थप फैलिन्छ।
यूएसडीए (संयुक्त राज्य कृषि विभाग) को भनाइ अनुसार, ब्याक्टेरिया मार्ने एक मात्र भरपर्दो उपाय भनेको मासुलाई सही तापक्रममा पकाउनु हो।













