झापा – मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । मेचीनगरको वडा–२, ३, ७, ८, ९ र १४ मा पशुचौपायामा ‘लम्पी स्किन’ र वडा–६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमणपछि किसान चिन्तित भएका छन् । नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका लागि प्राविधिक कर्मचारी परिचालन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमण रोकथामका लागि आवश्यक सहयोग र समन्वयका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारका निकायमा समेत अनुरोध गरेको नगरपालिकाले जनाएको छ । पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ ।

अहिले किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार शुरु गरेको छ । गाई र बाच्छीको शरिरमा घाउ खटिरा र ज्वरो आउने लक्षण छ । किसानलाई गोठको सरसफाइ तथा जैविक सुरक्षाका उपाय अपनाउन अनुरोध गरिएको छ । ‘लम्पी स्किन’बाट पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नखाने र दूध कम दिने लक्षण देखिने राईले बताउनुभयो ।

यस्तै मेचीनगर–६ को एउटा बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० वटा बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताउनुभयो ।

फार्म सञ्चालक बबिता गहतराजले ८० वटा बङ्गुर मर्दा आफूलाई नोक्सानी भएको बताउनुभएको छ । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको छ । रासस