काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाएका छन् । गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनल यस्तो आपत्ति जनाएका हुन् ।
गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति राखेका हुन् ।
‘गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ । कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राष्ट्रपतिले भने भन्छ कि भन्नुहुन्छ भन्छ कि मैले याद गरेको छैन । नातीसँग कुरा गरेर राष्ट्रपतिले राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन ।’
उनले राजतन्त्रको बेलामा पत्रपत्रिकाले प्रयोग गर्ने भाषा र शब्दहरूको पनि टिप्पणी गरे ।
‘राजा हुँदा राजाले हेर्दैन थिए, नजर गर्थे, हिँड्दैन थिए सवारी गर्थे, बस्दैन थिए, आराम गर्थे, सुत्दैन थिए, सुकला हुन्थ्यो । राजतन्त्र फाल्यौं भनेपछि यी जनताका छोरालाई किन मान्ने, किन सम्मान गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘यू भनेपछि हजुरबुवा पनि भयो नाती पनि भयो । जुन भाषा गरिब छ त्यसले हाम्रो भाषाको उचाइ छुन सकेन भन्दैमा हामीले भाषाको कद घटाउने ?’
गोरखापत्रले सिंगो समाजको साँच्चै सेवा गरेर गुन लगाएको ओलीको भनाइ थियो ।
‘जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ छ ।