काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद‌मा १ घण्टाभन्दा लामो समय लगाएर प्रस्तुत गरेको ६० पृष्ठ लामो नीति तथा कार्यक्रम विगतका नीति तथा कायक्रमले लिएका अधिकांश नीति साविकका नीतिहरूको निरन्तरता र उल्लेख कार्यक्रम दुरुस्तै देखिन्छन् ।

त्यसो त सरकारले यस पटक पूर्वाधार आयोजना र कार्यक्रमका हकमा पुनर्संरचना, पुनः प्राथमिकीकरण गर्ने भनेको छ । तर, केही यस्ता नीति तथा कार्यक्रमलाई दोहोर्‍याएको छ, जसले नीति तथा कार्यक्रम ‘कार्यान्वयन गर्न नपर्ने दस्तावेज मात्र हो’ भन्ने भाष्यलाई बल पुर्‍याउँछ ।

नेपाल वायुसेवा निगमको पुनर्संरचनादेखि अनावश्यक सार्वजनिक संरचना खारेजी वा गाभ्ने विषय यसको उदाहरण हो । फजुल खर्च रोक्दै चालु बजेट नियन्त्रण गर्नेदेखि रोजगारी सिर्जना र विस्तारका कार्यक्रममा पनि हरेक वर्षको नीति तथा कार्यक्रममा दोहोरिने विषय हुन् ।