काठमाडौं – नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै हुनुहुन्छ । शपथसँगै उहाँले आजैदेखि काम थाल्नुहुनेछ ।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो ।
सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ ।
शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।
शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ ।
शिक्षामन्त्री पन्तले पदभार ग्रहणसँगै आन्दोलनरत शिक्षकसँग संवाद गरेर समाधान खोज्न दबाब बढेको छ ।










