काठमाडौं – काठमाडौंमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ । सडक नै ढाकेर हुने प्रदर्शनका कारण काठमाडौंको माइतिघर–नयाँ बानेश्वर सडक लगायत आसपासको ट्राफिक व्यवस्थापन दिनदिनै अस्तव्यस्त भइरहेको छ ।

शिक्षकहरुले चैत २० गतेदेखि सडक नै ढाकेर प्रदर्शन गर्दै आएका छन् । शिक्षक सडकमा आएको अघिल्लो दिन नै प्रदर्शन शुरु गरेका सहकारी, लघुवित्त र मिटर ब्याज पीडितको आन्दोलन पनि अझै चलिरहेको छ । उनीहरूको प्रदर्शन क्षेत्रपाटी, शान्तिबाटिका र भद्रकाली क्षेत्रमा केन्द्रित छ ।
बुद्धनगर बबरमहल क्षेत्रमै चैत २१ गतेदेखि आवासीय चिकित्सकहरु पनि तलब माग्दै आन्दोलन गरिरहेका छन् । बित्तिय संस्था पिडित, शिक्षक र चिकित्सकको आन्दोलन भन्दा पहिले नै प्रदर्शन शुरु गरेका राजावादीहरुको प्रदर्शन पनि चलिरहेकै छ ।

यसबीचमा संघीयता पक्षधरदेखि कुलमान घिसिङ समर्थकसम्मका प्रदर्शनहरु पनि भइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वर–माइतिघर सडक ठप्प जस्तै हुँदा त्यसको असर आसपासमा अरू सडकमा पनि देखिने गरेको बताउनुहुन्छ । भोलि त राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चेतावनी दिएको छ ।