काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

लामिछानेलाई गत शुक्रबार राति (चैत २२) निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानव अधिकार आयोग पुगेर रास्वपाका नेताहरूले निवेदन दर्ता गरेका हुन् ।

रास्वपाले मानव अधिकार आयोगमा दर्ता गरेको निवेदनमा लामिछानेविरुद्ध अस्वभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेको लगायतका विषय उल्लेख गरिएको छ ।

‘राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राज्यसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउनेगरी राज्यसंयन्त्र उत्रियो । यसको घोर भत्र्सना गर्दछौं,’ कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भनेका छन् ।

उक्त घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । सामान्य पक्राउ पुर्जीसमेत नलिइ अदालतको आदेश मान्ने भन्दै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।