काठमाडौं – धरौटीमा छाड्ने आदेश बदर भएलगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् ।
उनलाई समात्न पौने ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली विना प्रक्राउ पूर्जी हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।
उनले औपचारिक कागजात माग्दा अक्क न बक्क बनेको प्रहरीलाएई बल्ल आफूले पक्राउ पूर्जीसमेत नबोकेको हेक्का भएर हच्किएका थिए । तर उनीहरुको इरादा सभापति लामिछाने लगी हालौं भन्ने मात्र थियो’, रास्वपाका एक सांसद्ले भने ।
लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए ।
प्रहरी त्यसबेला उच्च अदालत बुटवल इजलासले दिएको आदेशको प्रतिलिपि मात्र बोकेर त्यहाँ पुगेका थिए । प्रहरी अधिकारीहरुले त्यही प्रतिलिपिमा हस्ताक्षर गरेर लामिछानेलाई हिंड्न भनेका थिए । तर, रास्वपा नेताहरु र लामिछानेले पक्राउ पूर्जी दिनुपर्ने भन्दै अडान लिए ।
लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेबीच सवाल जवाफ समेत भयो ।
लामिछानेले आफ्नो हकमा प्रहरीलाई कुनै तयारी गर्नु नपर्ने भन्दै कटाक्ष गरे, ‘मलाई आउने लाने, थुन्ने हो‘….. दुई तिहाइको सरकार हो ।’
वादविवाद हुन थालेपछि प्रहरीले जरुरी पक्राउ पूर्जीको पाना मगायो ।
‘प्रहरीले सभापतिज्यूको बेडकै अगाडि बसेर पक्राउ पूर्जी लेख्न थाल्यो, अनौठो हिसाबले प्रहरीले हतार देखायो’, रास्वपा नेता प्रणय रानाले टिप्पणी गरे, ‘नागरिकको घरभित्र छिरेर बल्ल कानूनी कागजात बनाउने विषय त गैरकानूनी हो ।’
प्रहरीले त्यहीँ जरुरी पक्राउ पूर्जी तयार गर्न थालेपछि एक जना नेताले ‘गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको सभापति भएको पदमा भएकालाई यहाँ बसेर पत्र बसेर दिने हो ?’ भन्दै प्रश्न गरे ।
लामिछाने पनि केही बेखुश सुनिँदै प्रहरीलाई ‘लेख्नुस्, लेख्नुस्’ भन्न थाले ।
लामिछानेलाई पक्राउ गर्न खटिएका एक अधिकृतले भने अदालतबाट भएको आदेशकै आधारमा गएकाले पक्राउ पूर्जी तत्काल दिनु र नदिनुको त्यति धेरै फरक नहुने तर्क गरे ।
पक्राउ पूर्जी तयार हुँदा साढे ९ भइसकेको थियो । त्यसमा हस्ताक्षर गरेर लामिछाने प्रहरीसँग निस्किन राजी भए । यसपछि प्रहरी टोलीले लामिछानेलाई बा २१ च २१०७ को गाडीमा राखेर प्रहरीले भद्रकाली पुर्याएको छ ।










