काठमाडौं – काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने भन्दै ३२ वटै वडामा माइकिङ गर्न थालेको छ । महानगरले यसअघि गोरखापत्रमा सूचना आएको भन्दै सिधै डोजर लिएर जाने गरेको थियो । तर, समय नै नदिईकन अनधिकृत संरचना हटाएको भन्दै विरोध भएपछि पूर्व सूचना दिने गरी माइकिङ सुरु गरेको हो ।
अनधिकृत संरचनाबारे महानगरमा दैनिक ५०भन्दा बढी उजुरी परिरहेको र त्यसबारे अध्ययन गरेर माइकिङ गर्ने काम भइरहेको महानगरका अधिकारीहरू बताउँछन् । ‘अब अनधिकृत संरचनाहरु भत्काउन वडाध्यक्षहरुले नै अपनत्व लिएर काम सुरु गरेका छन् । काठमाडौंको सबै वडामा वडाध्यक्षहरुले देखाएको ठाउँमा महानगर प्रहरीले माइकिङ गरिरहेको छ,’ महानगरका एक प्रहरी अधिकारीले भने,’सबै वडाहरुको कुनै न कुनै ठाउँमा अनधिकृत संरचनाहरु छन् । वडाध्यक्षहरुले नै सूचना दिएर भत्काउन भनेका माइकिङ गरेर समय दिइरहेका छौं ।’
काठमाडौंका प्रवक्ता नवीन मानन्धरले महानगरको प्राथमिकता नै व्यवस्थापन रहेकोले सोहीअनुसार काम भइरहेको बताए । ‘वडाध्यक्षहरु त सँधै नै आफ्ना वडाहरुमा काम गरिरहेका छन् । तर, अहिले महानगरको प्राथमिकताअनुसार हामीले पनि अनधिकृत संरचना हटाउने विषयलाई प्राथमिकता दिएका छौं,’ मानन्धरले भने ।
उनले सबै वडाहरुमा माइकिङ गर्दा अनधिकृत संरचना हटाउने सूचना बेलैमा पुग्ने भन्दै वडाध्यक्षहरु नै यसमा सक्रिय भएको बताए । काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगर प्रहरीलाई आएको सूचनालाई पुष्टि गरेर माइकिङ गर्न थालिएको छ ।
‘वडा कार्यालयबाट अनधिकृत संरचना हटाउन सूचना आउँछ । वडाबाट आएको सूचनालाई आधार मानेर हामीले माइकिङ गर्छौ । सोहि अनुसार खाली गर्न थालिएको छ,’ अर्यालले भने ‘अहिले अनधिकृत संरचना, सार्वजनिक जग्गा मिचेको, नक्सा विपरीत बेसमेन्ट प्रयोग, फुटपाथ अतिक्रमण जस्ता समस्या समाधान गर्न वडाबाट धेरै सहयोग भइरहेको छ । उहाँहरुको राय अनुसार नै हामीले कारबाही गरिरहेका छौं ।’
अर्यालका अनुसार पछिल्लो समय अनधिकृत संरचना हटाउन भन्दै महानगरमा दैनिक ५० भन्दा बढी गुनासो तथा उजुरी आउने गरेको छ । ‘कल सेन्टरमा, वडा कार्यालयमा, महानगरको गुनासो पेटिका, जनप्रतिनिधि, महानगर प्रहरी सबैलाई फोन, मेसेज गरेर गुनासो आउँछ तर हामी त्यस्ता गुनासो पुष्टि गरेर मात्रै कारबाही गर्छौं ।’














